काठमाडौं । एनसेलले ४जी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप स्थानमा ३जी सेवा बन्द गर्ने भएको छ । कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजना अनुसार भाद्र १ देखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट ३जी सेवा बन्द गर्न लागेको हो ।
एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका बर्दिया र पाल्पा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।
एनसेलले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ ९भोल्टे० प्रविधि सहित ४जी नेटवर्कलाई थप बलियो बनाउने उद्देश्यले ३जी सेवा चरणबद्ध रूपमा बन्द गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार ४जी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको छ ।
भाद्र १ देखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायतका स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ । त्यस्तै लमजुङका मस्र्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसी शहर लगायतका स्थानमा पनि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोला लगायतका स्थानमा ३जी सेवा बन्द हुनेछ । सुदूरपश्चिम प्रदेशको कैलालीमा टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि ३जी सेवा बन्द गर्ने एनसेलको योजना छ ।
प्रतिक्रिया