
रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा १३१३ जनाको जीवितै उद्धार गरिएको छ भने ३०७१ जना अझै सम्पर्कविहीन छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका १२२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ । बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँ तर्फ सुरक्षित स्थानान्तरण गरिएको छ । दुर्गम र सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।
विपद्पछि जिल्लामा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ठूलो छ । श्रीनाथ गण, ब्राबल ब्यारेक अन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन् । यस्तै, रसुवाका १३७०, अन्य जिल्लाका १२६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका सहायक प्रजिअ अधिकारीले जनाएका छन् ।
विपद्का क्रममा फेलापरेका शवमध्ये ६ जनाको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ । उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो । अन्य विभिन्न स्थानमा फेलापरेका १६३ शवमध्ये ५ जनाको सनाखत भइसकेको र बाँकीको सनाखत प्रक्रिया तथा डिएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको सहायक प्रजिअ अधिकारीले बताए ।
बाढीपहिरोले रसुवाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार १५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, ८ वटा सामुदायिक विद्यालय, ३ निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ ।
त्यसैगरी, जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड थप्प भएको छ । ६ वटा पक्की मोटरेबल पुल, ८ वटा ट्रस तथा बेलीब्रिज, १ आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ । जिल्लाका ८ वटा जलविद्युत् आयोजनामा समेत अत्यधिक क्षति गरेको छ ।
थातथलोबाट विस्थापित भएका ७०३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालय लगायत स्थानमा आश्रित नागरिकलाई गाँसबासको व्यवस्था मिलाइएको छ । प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिसकिएको छ । विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएकाले उद्धार र समन्वय कार्यमा सहज भएको छ ।
प्रतिक्रिया