logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    माथिल्लो त्रिशूली-१ का पीडित परिवार गेटमा रोइरहेछन्

    • econmanduu econmanduu
    • २०८३ भाद्र २२, सोमबार १५:२८
    माथिल्लो त्रिशूली-१ का पीडित परिवार गेटमा रोइरहेछन्

    काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोट क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको १२ दिन बितिसकेको छ।

    दर्जनाैँ आयोजनाहरू तहसनहस भएका छन् भने २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत दर्जनाैँ श्रमिकहरू अझै बेपत्ता छन्। तर, यति ठूलो विपत्ति र मानवीय क्षतिपछि पनि आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा. लि. (एनडब्लूडीसी) र मुख्य इपीसी ठेकेदार डूसान इनर्बिलिटीले उद्धार तथा खोजी कार्यमा चरम बेवास्ता र गैरजिम्मेवारीपन देखाएको भन्दै पीडित परिवारहरू आक्रोशित बनेका छन्।

    आफ्ना हराइरहेका आफन्तको खोजी र सूचनाको आसमा दिनहुँ थापाथली स्थित एनडब्लूडीसीको कार्यालय धाउने पीडितहरूका अनुसार, सुरुवाती दिनमा विश्व बैंकको आइएफसी जस्ता ठूला अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको लगानी रहेको आयोजनाबाट द्रुत खोजी र उद्धार हुने आशा लिइएको थियो। तर, दिन बित्दै जाँदा कम्पनीले उद्धार गर्नुको सट्टा जिम्मेवारी पन्छाउने खेल मात्र खेलिरहेको छ।

    एनडब्लूडीसीले सम्पूर्ण दायित्व ठेकेदार कम्पनी डूसानको भएको भन्दै पन्छिन खोज्ने र डूसानले “सामान पठाएका छौँ” भनेर आलटाल गर्ने गरेको पीडितहरूको गुनासो छ।

    कार्यालय परिसरमा भेटिएका पीडितहरूले घाम, पानी, भोक र तिर्खा सहँदै बिहानैदेखि टोलाएर बस्नु परेको दुःखेसो पोखे। आयोजना व्यवस्थापनले पीडितहरू सँग संवाद गर्नुको सट्टा कार्यालयको मुख्य गेटमै प्रहरी तैनाथ गरेर भित्र छिर्न समेत नदिएको उनीहरूको भनाइ छ।

    “हामी बिहानै देखि यहाँ केही खबर पाइन्छ कि भनेर पर्खिन्छौँ, तर गेटमा प्रहरी राखेर हामीलाई भित्र छिर्न दिइँदैन,” आफ्नो श्रीमान हराइरहेकी एक पीडित महिलाले भनिन्, “आफन्त गुमाएको पीडा त छँदैछ, आयोजनाले थप पीडा दिइरहेको छ। उच्च तहका अधिकारीहरू सँग सहयोग माग्दा इपीसी ठेकेदार डूसान हो, हामी जिम्मेवार छैनौँ भनेर ठाडै पन्छिन्छन्।”

    उनले आयोजनाका वातावरण तथा सामाजिक निर्देशक लगायतका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले यस्तो संवेदनशील घडीमा सहानुभूतिका शब्द भन्नुको सट्टा झन् गैरजिम्मेवार र निकृष्ट भाषा प्रयोग गर्ने गरेको गुनासो समेत गरिन्।

    पीडित परिवारहरूले निराशा पोख्दै सोधेका छन्— “हाम्रो पीडा कसलाई सुनाउने ? आयोजना, ठेकेदार, सरकार कि पत्रकारले हाम्रा कुरा बुझ्ने को ?” अरबौँ लगानी भएका र विश्व बैंकको भगिनी संस्था आइएफसी लगायत अन्तर्राष्ट्रिय निकायको प्रत्यक्ष साझेदारी रहेको आयोजनाले त बाढीमा हराई रहेका श्रमिकका पीडित परिवारमाथि यस्तो समवेदनहीन व्यवहार गर्छन् भने अन्य साधारण ठाउँमा न्यायको आशा कसरी गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ।

    बाढी आएको १२ दिन बितिसक्दा पनि सुरुङ, हेडवर्क्स र बगरमा पुरिएका श्रमिकहरू को प्रभावकारी उत्खनन र खोजी नहुनुले आयोजनाको नियतमाथि नै स्थानीय र पीडितहरू ले शंका व्यक्त गरेका छन्। सोही आयोजनाको सुरूङ बाट शनिबार एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको थियो ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २२, सोमबार १५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP