
काठमाडौं । नेपालमा सुरक्षित, व्यवस्थित एवं वैज्ञानिक ढंगले दिगो शहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले ‘नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी-२०८३’ आयोजना हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघ (NLHDA) को संयुक्त आयोजनामा आगामी असोज २ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुन लागेको हो।
आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा छिमेकी मुलुक भारतका समेत गरी १०० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्। प्रदर्शनीमा संयुक्त आवास (अपार्टमेन्ट), जग्गा विकास आयोजना, आधुनिक निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सोफा तथा कार्पेट लगायतका सामग्री तथा सेवा प्रदर्शन गरिनेछ। त्यसैगरी वातावरणमैत्री प्रविधि, स्मार्ट होम, स्मार्ट सिटी, डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक सामग्री तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोगसमेत प्रदर्शनीमा देखाइने आयोजकले जनाएको छ।
बाढी प्रभावितलाई १३ लाख सहयोग
प्रदर्शनी आयोजकले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत रसुवा जिल्लाका बाढी प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री खरिदका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १३ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।
प्रदर्शनी अवधिभर भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुशास्त्र सम्बन्धी विशेषज्ञबाट निःशुल्क परामर्श, स्वास्थ्य शिविर तथा बाढीपीडितका लागि स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ।त्यस्तै नीति निर्माता, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, इन्जिनियर तथा आर्किटेक्टको सहभागितामा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनर्निर्माण तथा सार्वजनिक–निजी साझेदारी (एएए) लगायतका विषयमा प्यानल छलफलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
प्रदर्शनीले बैंक तथा वित्तीय संस्थाबाट उपलब्ध ऋण, ब्याजदर तथा घरजग्गा सम्बन्धी नीति–कानुनबारे जानकारी लिन र उपभोक्तालाई सुरक्षित लगानी तथा घर छनोटमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
प्रतिक्रिया