logo
  • २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    आजको मौसम: सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    • econmanduu econmanduu
    • २०८३ भाद्र २९, सोमबार १५:१५
    आजको मौसम:  सातै प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग र गण्डकी, कर्णाली एवं सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी तथा तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई भू-भागका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भाग र गण्डकी, कर्णाली एवं सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक छ। साथै ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहतमा असर पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २९, सोमबार १५:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP