logo
  • २०८३ भाद्र २९ | Mon, 14 Sep 2026
  • Dark Mode

          Subscribe

    बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित

    • econmanduu econmanduu
    • २०८३ भाद्र २९, सोमबार १५:०६
    बाढी-पहिरो र मर्मतका कारण विभिन्न राजमार्ग प्रभावित

    काठमाडौं – बाढी, पहिरो र सडक मर्मतका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। सम्भावित बाढी र पहिरोका कारण केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही स्थानमा समय तालिका तोकेर तथा एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

    पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको ज्वाडखोला र शीतलबजार क्षेत्रमा भने पहिरो पन्छाएर एकतर्फी रूपमा गाडी सञ्चालन गरिएको छ।

    यस्तै, रसुवा र नुवाकोट जोड्ने मुख्य सडकहरू बाढीका कारण नराम्ररी प्रभावित भएका छन्। त्रिशुली-मैलुङ-स्याफ्रुबेशी सडकको उत्तरगया–५ खाल्टे तथा अन्य मुख्य क्षेत्रहरूमा बाटो पूर्ण रूपमा अवरुद्ध छ। पासाङ ल्हामु सडक खण्डको विदुर–१० सिमटारमा पनि बाढीले बाटो ठप्प पारेको छ भने नुवाकोटको टोखा-छहरे सडकअन्तर्गत घट्टेखोलामा सम्भावित बाढी-पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।

    उता बीपी राजमार्गको खुर्कोट-नेपालथोक–कटुञ्जेबेँसी खण्डमा भने समय तालिका तोकेर सवारी साधन छाड्ने गरिएको छ। सो क्षेत्रमा साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक गाडी र दिउँसोको समयमा परिस्थिति हेरेर अन्य सवारी सुचारु गराइएको छ।

    यसैगरी चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा सडक मर्मत भइरहेकाले चाप अनुसार एकतर्फी रूपमा गाडी चलाइएको छ भने मनाङको चामे-बेसीसहर सडक खण्डको धारापानीमा सडक निर्माण जारी रहेकाले हाल साना सवारी साधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।



    econmanduu econmanduu    
  • २०८३ भाद्र २९, सोमबार १५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP