काठमाडौं । ब्रह्माकुमारीज संस्थाको पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपालकाे इतिहासमै पहिलो पटक एकै दिन ५०४७ पिन्ट रगत संकलन भएको छ।
नेपालमै एक दिनमा भएको यो संकलन हालसम्मकै रेकर्ड ब्रेकिङ रक्तदान अभियानका रूपमा स्थापित भएको छ।
यो अभियान ब्रह्माकुमारीजका नेपाल–भारतभर फैलिएका शाखाहरुको आयोजनामा तथा विभिन्न सामाजिक संघ–संस्थाहरुको सहकार्यमा सञ्चालन गरिएको हो। यस अन्तर्राष्ट्रिय अभियान अन्तर्गत १०० घण्टाभित्र एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ।
यसको राष्ट्रिय शुभारम्भ भाद्र १ गते ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको सभाहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
अभियानको पहिलो दिन अर्थात् भाद्र ६ (अगस्ट २२) मा नेपालभरका ब्रह्माकुमारीजका शाखाहरुबाट,
काठमाडौं क्षेत्र : १,७४५ पिन्ट
विराटनगर क्षेत्र : १,३०२ पिन्ट
नारायणगढ क्षेत्र : ८१२ पिन्ट
नेपालगञ्ज क्षेत्र : २५६ पिन्ट
बीरगंज क्षेत्र : २२० पिन्ट
पोखरा क्षेत्र : १४९ पिन्ट
दाङ क्षेत्र : १३७ पिन्ट
बुटवल क्षेत्र : १२१ पिन्ट
हेटौंडा क्षेत्र : ११३ पिन्ट
जनकपुर क्षेत्र : १०० पिन्ट
भैरहवा क्षेत्र : ६७ पिन्ट
राजविराज क्षेत्र : २५ पिन्ट
कुल संकलन : ५०४७ पिन्ट
यो संख्याले नेपालमा एकै दिनमा संकलित रगतको हालसम्मकै उच्चतम रेकर्ड कायम गरेको छ।
अभियान निरन्तर जारी
यस रक्तदान अभियान अगस्ट २२ देखि २५ सम्म (भदौ ६–९) निरन्तर चल्नेछ र यस अवधिभर नेपाल–भारतका सयौं स्थानमा हजारौं स्वयंसेवकहरुले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
यस अभियानलाई सामाजिक सद्भाव, मानव सेवा र विश्व बन्धुत्वको ऐतिहासिक उदाहरणका रूपमा लिइएको छ।
जसअन्तर्गत अभियानको दोस्रो दिन भदौ ७ (अगस्ट २३, २०२५) मा, नेपालभरबाट जम्मा २,२९१ पिन्ट रगत संकलन गरिएको छ। यो सफलता स्वयंसेवक, स्वास्थ्यकर्मी, सामाजिक संस्था तथा सहयोगी हातहरूको सक्रिय सहभागिताबाट सम्भव भएको हो।
त्यस्तै, ८ गते नेपालका विभिन्न जिल्लामा सञ्चालन भएका रक्तदान कार्यक्रमहरूबाट जम्मा ३,१२१ पिन्ट रगत संकलन गरिएको छ। यो उल्लेखनीय उपलब्धि स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू, सामाजिक संस्था तथा स्थानीय समुदायको सक्रिय सहभागिता र सहकार्यद्वारा सम्भव भएको हो।
विश्वव्यापी रूपमा १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिएको नेपालमा मात्र कुल ११९१६ संकलन भएको बताइएको छ।