
चितवन – रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनार बाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको पहिचान भएपछि आफन्तको जिम्मा लगाइएको छ ।
शवहरू को वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ ।
उनका अनुसार भदौ १६ गते ७ पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा २ महिला, २२ पुरुष र २ पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा ४ महिला, १४ पुरुष, १ बालक र ३ भारतीय पुरुष नागरिक छन् ।
यस्तै, भदौ १९ गते ७ जनाको नमूना सङ्कलन गरिएकामा १ महिला, ४ पुरुष, १ बालक र १ भारतीय पुरुष रहेका छन् । भदौ २० गते ६ जनाको नमूना सङ्कलन गरिएकामा २ महिला,१ पुरुष र ३ बालक रहेका छन् ।
डिएसपी यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।
| मिति | महिला | पुरुष | बालक | भारतीय पुरुष नागरिक | जम्मा |
|---|---|---|---|---|---|
| भदौ १६ गते | – | ७ | – | – | ७ |
| भदौ १७ गते | २ | २२ | – | २ | २६ |
| भदौ १८ गते | ४ | १४ | १ | ३ | २२ |
| भदौ १९ गते | १ | ४ | १ | १ | ७ |
| भदौ २० गते | २ | १ | ३ | – | ६ |
| जम्मा | ९ | ४८ | ५ | ६ | ६८ |
प्रतिक्रिया