
हेटौंडा – मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको उक्त गाडी मंगलबार दिउँसो करिब २ बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ४ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये १ जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ भने बाँकी ३ जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुने तथा घाइतेको पहिचान भने खुल्न बाँकी रहेको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया