लुभु,ललितपुर, ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-८ स्थित लुभुमा यसपालीको महालक्ष्मी महाभैरब जात्रा बुधबार सम्पन्न भएको छ । इतिहास अनुसार देवमाला वंशावलीलाई आधार मान्दा नेपाल सम्वत ७०६-०७ मा हरिहर सिंह देव को पाला देखी लुभुमा मनाईने महालक्ष्मी महाभैरब जात्रा सुरु भएको पाईन्छ । यो जात्रा वर्षेनी बैशाख महीना को अक्षय तृतीया सुरु भई आठ दिन सम्म विधिपूर्वक चल्दछ भने देउता दर्शन का निम्ति ९ दिनमा समापन हुने गरेको छ । यस जात्राका मुल थकाली (जेष्ठ विज्ञ) लुभुका स्थानीय बासिन्दा गणेश बहादुर श्रेष्ठ हुन ।

यस जात्रामा ८ दिन सम्म के-के हुन्छ त?
नेवा संस्कृति समिति महालक्ष्मीका अध्यक्ष इंजीनियर राम बहादुर श्रेष्ठ का अनुसार यो जात्रामा ८ दिन सम्म हुने विधिहरु निम्न छन:
पहिलो दिन: लुभु को लाछी क्षेत्र इतिहास अनुसार गंगामहारानी को क्षेत्र हो र त्यहा महालक्ष्मी भगवती मंदिरमा देवताहरूका ६ प्रतिमा हरू (महालक्ष्मी,महाभैरब,गणेश २,कुमार र कुमारी)प्रतिस्थापित हुन्छन र त्यो प्रतिस्थापना गंगामहारानी को दरबार क्षेत्रमा पर्ने भएकोले गंगामहारानी को प्रतिनिधि को रूपमा महालक्ष्मी गुठीद्वारा तोकिएको एक भंसारी हुन्छन र ती भंसारीको आदेशमा देवता का ६ प्रतिमा उठाउन र देवताका गरगहना बोक्न ७ जना थकाली (जेष्ठ विज्ञ) को व्यवस्था हुन्छ । महालक्ष्मी भगवती र महाभैरब को जात्रा को लागी अलग दुइ वटा खट (रथ) तयार हुन्छ र त्यसमा देवता को प्रतिस्थापनको लागी भंसारीको आदेशमा मुल थकाली ले महालक्ष्मी भगवतीको प्रतिमा सेतो चम्मर ले हम्काउदै पहिलो खटमा राख्छन र अन्य थकालीहरूले त्यही रथमा गणेश र कुमारको प्रतिमा राख्छन । दोश्रो खट (रथ) मा महाभैरब लाई कालो चम्मर ले हम्काउदै ल्याइन्छ र महाभैरव संग गणेश र कुमारीको पनी प्रतिमा स्थापित गरिन्छ र सम्पूर्ण जनता द्वारा दुबै खट(रथ)मा भएका महालक्ष्मी महाभैरब को प्रतिमा सहित को पूजा पश्चात जात्रा को शुभारंभ हुन्छ ।
दोश्रो दिन: दुई वटा नै खट (रथ) मा देवताहरू लाई पूजा गर्न रथलाई सारिन्छ र त्यस दिनको अन्तिम पूजा लाछी बाट पीगनको द्वारमा पुगे पछी सकिन्छ ,यसलाई स्वा को काब्रो पूजा भनिन्छ र यो पूजा भैसकेपछी त्यहाको टीका प्रसाद लीन नपाइने चलन छ । यस दिन विशेष महालक्ष्मी महाभैरब को श्रृंगार पटार गरिन्छ अनी जात्राको शुरुवात हुन्छ । जात्राको शुरुवात संगै दुबै रथ पीगन को द्वार बाट महालक्ष्मी मंदिर देविस्थान सम्म लगिन्छ किनभने इतिहास अनुसार देविस्थान महालक्ष्मी भगवती को माईती घर र महाभैरब को ससुराली घर भएको विश्वास गरिन्छ र दुबै रथ का देवतालाई देवीस्थान महालक्ष्मी मंदिरका देवता संग खप्टयाएर राखिंछ ,पूजा गरिन्छ र पुन रथमा महालक्ष्मी महाभैरब सहितका देवतालाई राखेर रथ लुभु बसपार्क स्थित गोब्राटेश्वर महादेव मंदिर प्रांगणमा लगिन्छ र त्यहा स्थापित दुइ मंडपमा महालक्ष्मी र महाभैरब को रथ (खट) लगेर बिसाइञ्छ अनी गाबया गरिन्छ (जून मछीन्द्रनाथ को जात्रा विधि संग मेल खानछ) र त्यहाबाट आकाश भैरवको उत्पति हुन्छ भन्ने विश्वास गरिन्छ र त्यहा गोब्राटेश्वर मंदिर प्रांगण भएको आकाश भैरव को मंदिरको अगाड़ी कागजको आकाश भैरवको प्रतिमा राखिन्छ र राती बेदाग कालो बोकाको बलि दिने प्रचलन छ र कागजको आकाश भैरव को अर्को छुट्टै खट(रथ) बनाई आकाश भैरवलाई कालो बोकाको सेतो आंद्राको माला लगाइन्छ र आकाश भैरव को रथ अघि बनाएर महालक्ष्मी महाभैरब को रथ पछी हिड़ाई सबै रथ लुभु बस पार्क लगेर राखेर दोश्रो दिन समाप्त हुन्छ ।
तेश्रो दिन: आकाश भैरव बाहेक का महालक्ष्मी महाभैरब का दुइ खट (रथ) का देवताहरू लाई विभिन्न स्थानमा सार्दै पूजा गरिन्छ र राति जात्रा गरिन्छ ।
चौथो दिन: टोल टोलमा महालक्ष्मी महाभैरब सहित देवताहरू को दुई वटा नै खट सार्ने ,पूजा गर्ने र राति जात्रा गर्ने ।
पाचौ दिन: टोल टोलमा महालक्ष्मी महाभैरब सहित देवताहरू को दुई वटा नै खट सार्ने ,पूजा गर्ने र राति जात्रा गर्ने ।
छैठौ दिन: “सरकारी पूजाको दिन “ अष्टमी तिथि मा पर्दछ,यस दिन सरकारी प्रतिनिधि भंसारीले पूजा गर्छन र रातमा जात्रा हुन्छ ।
सातौ दिन: टोल टोलमा महालक्ष्मी महाभैरब सहित देवताहरू को दुई वटा नै खट सार्ने ,पूजा गर्ने र राति जात्रा गर्ने ।
आठौ दिन: लुभु लाछी स्थित गंगामहारानी को दरबार को अगाड़ी महालक्ष्मी महाभैरब को रथलाई गंगामहारानी तर्फ़ फ़र्काएर राखिन्छ भने आकाश भैरवको रथलाई महालक्ष्मी महाभैरबको रथ तर्फ़ फ़र्काएर राखिन्छ र आकाश भैरव सहित सम्पूर्ण देवता लाई गंगामहारानी को तर्फ़बाट पूजा गरिन्छ र आकाश भैरवलाई विदा गरी प्रतिमालाई सेलाउन लगिन्छ । त्यही समयमा स्वा को काब्रो पूजा महालक्ष्मी महाभैरब को खट (रथ) मा गरिन्छ र त्यही दिन राती १ बजे बाट रथ (खट) लिएर जात्रा गरिन्छ र भोली पल्ट दिनभरी जात्रा गरी बेलुका ९,१० बजे महालक्ष्मी मंदिर लाछी मा सम्पूर्ण देवताहरूको प्रतिमा थन्काइ जात्रा समाप्त हुन्छ ।
(लेखक लुभु दंसी निवासी युवा अर्थशास्त्री जनता टेलीभीजनका निवर्तमान सीईओ रमेश आचार्य हुन,उनी २०८२ को प्रतिनिधि सभाको चुनाबमा ललितपुर क्षेत्र न २ को लागी हसिया (इचा) चिह्न लिएर लुभू बाट उठने एक्लो उम्मेदवार थिए)
प्रतिक्रिया