
काठमाडौं । नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएका २ विशिष्ट व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्ने भएको छ।
संघका अध्यक्ष मधुरमण आचार्यले शुक्रबार आयोजित पत्रकार भेटघाटमा धुलिखेल अस्पतालका संस्थापक तथा स्वास्थ्य क्षेत्रका विज्ञ डा. रामकण्ठ माकजू श्रेष्ठ र पूर्व प्रशासक रामेश्वरप्रसाद खनाललाई क्रमशः हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ प्रदान गर्न लागिएको जानकारी दिए।
त्यस्तै, सार्वजनिक प्रशासन र सार्वजनिक सेवाको विकासमा पुर्याएको योगदानका आधारमा रामेश्वरप्रसाद खनाललाई हेमबहादुर मल्ल सम्मान २०८२ प्रदान गरिने भएको छ। सार्वजनिक जिम्मेवारीमा रहँदा नीति निर्माण, प्रशासनिक व्यवस्थापन तथा सेवा प्रवाहका क्षेत्रमा उनले निर्वाह गरेको भूमिकालाई सम्मानका लागि महत्वपूर्ण आधार बनाइएको संघले जनाएको छ।
दुवै सम्मानका लागि योग्य व्यक्तित्व छनोट गर्न नेपाल सरकारका पूर्वसचिव तथा नेपाल जन–प्रशासन संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा सम्मान छनोट समिति गठन गरिएको थियो। समितिको सिफारिसका आधारमा संघले दुवै व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको हो।
सम्मान छनोट गर्दा सार्वजनिक सेवा र जनसरोकारका क्षेत्रमा पुर्याएको योगदान, सार्वजनिक जीवनमा पारेको प्रभाव, संस्थागत नेतृत्व तथा विकासमा निर्वाह गरेको भूमिका र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई मुख्य आधार बनाइएको संघले जनाएको छ।
धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनसँगै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार र संस्थागत विकासमा डा। श्रेष्ठले पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गर्न लागिएको संघले जनाएको छ। उनको नेतृत्वमा स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय र नागरिकप्रति उत्तरदायी बनाउन भएका प्रयासलाई संघले सार्वजनिक सेवाको क्षेत्रमा महत्वपूर्ण योगदानका रूपमा मूल्यांकन गरेको छ।
नेपाल जन–प्रशासन संघले वि.सं. २०६० देखि ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गर्दै आएको छ। सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सेवा प्रवाह तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको यो सम्मान साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको साझेदारीमा स्थापना गरिएको हो।
साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रहेर सार्वजनिक वितरण, सेवा र व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गीय हेमबहादुर मल्लको स्मृतिमा यो सम्मान स्थापना गरिएको हो।सम्मानसँगै सम्मानपत्र र २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिन्छ। सार्वजनिक जीवनमा दीर्घकालीन, अनुकरणीय र संस्थागत योगदानको राष्ट्रियस्तरमा कदर गर्नु सम्मानको मुख्य उद्देश्य रहेको संघले जनाएको छ।
यस अघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा अन्य सार्वजनिक सरोकारका क्षेत्रमा योगदान पुर्याएका २१ जना विशिष्ट व्यक्तित्वले यो सम्मान प्राप्त गरिसकेका छन्।
यस वर्षको सम्मान समारोह आगामी भदौ ८ गते सोमबार आयोजना गरिनेछ। समारोहमा सम्मानित व्यक्तित्वको योगदानको औपचारिक कदर गर्नुका साथै उनीहरूको अनुभव, दृष्टिकोण र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई सार्वजनिक संवादमार्फत प्रस्तुत गरिने संघले जनाएको छ।
संघले हेमबहादुर मल्ल सम्मानलाई व्यक्तिको योगदानको कदर गर्ने कार्यक्रम मात्र नभई सार्वजनिक सेवामा निष्ठा, व्यावसायिकता, उत्तरदायित्व, संस्थागत नेतृत्व र राष्ट्रहितप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्ने संस्थागत अभ्यासका रूपमा अघि बढाउँदै आएको छ।
नेपाल जन–प्रशासन संघले सार्वजनिक प्रशासन तथा व्यवस्थापनमा संलग्न प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच पेशागत सम्बन्ध सुदृढ गर्नुका साथै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्यांकनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान तथा प्रकाशन लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया