logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • Dark Mode

          Subscribe

    बाढी र पहिरोले देशभरका यी मुख्य राजमार्ग अवरूद्ध

    • econmanduu econmanduu
    • २०८३ श्रावण २९, शुक्रबार १६:२९
    बाढी र पहिरोले देशभरका यी मुख्य राजमार्ग अवरूद्ध

    काठमाडौं – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

    नेपाल प्रहरीको तथ्यांक अनुसार कोशी र बागमती प्रदेशका आधा दर्जन बढी सडक खण्डहरूमा यातायात प्रभावित भएको छ।

    बागमती प्रदेशमा सबैभन्दा बढी सडक अवरोध देखिएको छ। अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी-४ को चारकिलो, वडा नं २ को कोदारी र लिपिङमा पहिरो खसेका कारण यातायात ठप्प भएको हो।

    यस्तै, धादिङको थाक्रे गाउँपालिका-६ आठकिल्लामा आजै बिहान २:१५ बजे पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया-५ खाल्टेमा बाढीका कारण त्रिशूली-मैजुङ-स्याफ्रुबेसी सडक खण्ड लामो समयदेखि अवरुद्ध रहेको र यो तत्काल खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ।

    बिपी राजमार्ग र कान्ति लोकपथमा भने समय तालिका अनुसार सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेको खुर्कोट-नेपालथोक खण्डमा सम्भावित बाढीका कारण राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्ति लोकपथमा पनि राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ।

    कोशी प्रदेश अन्तर्गत मेची राजमार्गको इलाम नगरपालिका-९ राजदुवाली खण्ड पूर्ण रूपमा अवरुद्ध छ। झापा-ताप्लेजुङ जोड्ने यो सडक साउन २३ गतेदेखि नै बन्द रहेको छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने बताइएको छ।

    यस्तै, भोजपुर नगरपालिका-५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण साउन १२ गतेदेखि सडक एकतर्फी मात्र सुचारु छ। त्यहाँ पनि वैकल्पिक बाटोको व्यवस्था रहेको छ।

    लगातारको वर्षा र प्राकृतिक विपत्तिका कारण सडकको अवस्था अनिश्चित रहेकाले यात्रा गर्नुअघि नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा आधिकारिक सूचना हेर्न यात्रुहरूलाई आग्रह गरिएको छ।



    econmanduu econmanduu    
  • २०८३ श्रावण २९, शुक्रबार १६:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP