logo
  • २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    आज नागपञ्चमी, घर-घरमा नागको पूजा

    • econmanduu econmanduu
    • २०८३ भाद्र १, सोमबार १३:१८
    आज नागपञ्चमी, घर-घरमा नागको पूजा

    काठमाडौं – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्परा अनुसार नागको पूजा-अर्चना गरी नागपञ्चमी पर्व मनाइँदैछ । यस दिन घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर आज पूजा गर्ने परम्परा छ ।

    यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । घरको ढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने र अग्नि, मेघ एवं चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

    नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीको सन्तुलन मिलाउन र नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

    नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा पूजिन्छ । यस्तै, प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको हातमा नाग रहेको छ भने रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागकै अवतार मानिन्छ । भगवान् बुद्धको मूर्तिको शिरमा र जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट रहने गरेको छ ।

    नागपञ्चमीका विषयमा विभिन्न किंवदन्तीहरू पनि प्रचलित छन् । एक किसानले खेत खन्दा नागका ३ बच्चा मारिएपछि नागिनीले किसानको परिवार नै सखाप पारेकी थिइन् । तर, किसानकी छोरीले नागिनको शोडषोपचारले पूजा आराधना गरी दूध दिएर प्रसन्न पारिन् । नागिनीले प्रसन्न भई मागेको वरदान अनुसार किसानका मृत परिवारलाई जीवनदान दिएकी थिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी नै भएकाले त्यसै समयदेखि नाग पूजा गर्ने परम्परा बसेको कथन छ ।

    वैज्ञानिक रूपमा पनि प्रकृतिमा रहेका विषालु पदार्थलाई नाग र सर्पलगायतका जीवले शोषण गरी वातावरण स्वच्छ राख्ने भएकाले ऋषिमुनिहरूले नागजातिको पूजा आजा गर्ने रीत बसालेको मानिन्छ ।

    आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानहरू मा आज पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । नागपञ्चमीसँगै सनातन धर्मावलम्बीहरूका चाडबाडको याम सुरु भएको मानिन्छ ।

     

     



    econmanduu econmanduu    
  • २०८३ भाद्र १, सोमबार १३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP