
जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ का विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । पहिरोमा परी ३ जना बेपत्ता भएका छन् ।
पहिरोमा परी केदार कार्कीको मृत्यु भएको छ । पहिरोमा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।पहिरोमा परी बेपत्ता हुनेमा फारुलाकी ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की सहित अन्य १ जना रहेका छन् ।
बाढीपहिरोमा परी ७ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।बाढीपहिरोका कारण भेरी नगरपालिका–२ को रिसाङ क्षेत्रसँगै वडा नं ३ का स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड तथा वडा नं १ का पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्तीहरू उच्च जोखिममा परेका छन्।
अविरल वर्षा र प्रतिकूल मौसमका कारण रातिको समयमा प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार गर्न कठिनाइ भएको थियो ।आज बिहानैदेखि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, क्षतिको अवस्था पहिचान तथा आवश्यक समन्वयका लागि टोली परिचालन गर्ने तयारी भइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया