काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।
शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आपूर्ति बढिरहेको भन्दै अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेका हुन् ।
उनले नेपालको संविधानको धारा ४४ ले उपभोक्ताको हक सुनिश्चित गरेको उल्लेख गर्दै गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सरकार, निजी क्षेत्र तथा सामाजिक संघसंस्था आ–आफ्नो क्षेत्रबाट काम गरिरहेको बताए ।
‘साविकको तुलनामा ग्यास आपूर्ति बढेको छ। आपूर्तिमा समस्या छैन। केही समय वर्षाका कारण बुलेट उद्योगसम्म पुग्न ढिलो हुन सक्छ, नभए समस्या छैन। आफूलाई हाल चाहिने मात्रामा मात्रै खरिद गरौँ, पछि नपाइएला कि भन्ने चिन्ताबाट मुक्त बनौँ,’ उनले भने ।
प्रवक्ता सुवेदीका अनुसार नेपाल आयल निगमले ७।१ केजी क्षमताको सिलिन्डरबाट पुनः १४।२ केजीको पूर्ण सिलिन्डरमा ग्यास वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढेको हो ।
सुवेदीका अनुसार देशभर हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ भने दैनिक फिलिङ क्षमता करिब १ लाख ७५ हजार सिलिन्डर रहेको छ ।
साउन १ देखि २९ गतेसम्म २ हजार ७८१ बुलेट ग्यास आयात भएको मन्त्रालयको तथ्यांक छ । सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा पछिल्लो अवधिमा दैनिक औसत करिब १ लाख ३२ हजार सिलिन्डर बजारीकरण भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया