logo
  • २०८३ आश्विन ३ | Sat, 19 Sep 2026
  • Dark Mode

          Subscribe

    भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता

    • econmanduu econmanduu
    • २०८३ आश्विन २, शुक्रबार १४:०५
    भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ता

    काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६७७ जना मजदुर सम्पर्क विहीन भएको र ५१५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको संख्या अझै बढ्न सक्ने जनाएको छ ।

    भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण संकलन गर्नुपर्ने महासंघको भनाइ छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बाढीका कारण ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्यांकन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए।

    बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार र अन्य सम्बन्धित विषयमा रायसहितको प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।

    मन्त्रालयले भदौ २६ गते मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवाला सँग भएको बैठकको निर्णय अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्न जिम्मेवारी दिइएको छ ।

    समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, मन्त्रीको सचिवालय, यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर संघ–संगठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँ र महासंघका महासचिव बद्रीप्रसाद चौलागाईं लगायत सदस्य रहेका छन् ।

    मन्त्रालयका अनुसार समितिले भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति निर्धारणका लागि आवश्यक आधारसमेत तय गर्नेछ ।

     

     



    econmanduu econmanduu    
  • २०८३ आश्विन २, शुक्रबार १४:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP