काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १३५५ जनाको शव फेला परेको छ । भने ४९९६ नागरिक अझै सम्पर्कविहीन रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तिव्रस्तरमा अघि बढाइएको जनाएको छ ।
प्राधिकरणका अनुसार फेला परेका १३५५ शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ । बाढीले बगाएर ल्याएका शवहरू विभिन्न ८ जिल्लामा फेला परेका छन् । जस अनुसार नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, चितवनमा १६३, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेका हुन् । सम्पर्कविहीन हुनेहरूमा नुवाकोट जिल्ला प्रशासन बाट प्राप्त विवरण अनुसार करिब २३४० जना, रसुवाबाट १९६७ जना, विदेशी नागरिक ५८९ जना तथा सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म १३,३९६ जनाको सकुशल उद्धार गरिएको छ।
प्रतिक्रिया