यस वर्षको पहिलो कारोबार दिन शेयर बजारमा हरियाली छाएको छ। अघिल्लो कारोबार दिन सामान्य गिरावट आएको नेप्से, बुधबार भने मजबुत सुधारसहित बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ३३.२७ अंकले उकालो लाग्दै २८६६.८७ विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स ५.२२ अंकले बढ्दा फ्लोट इण्डेक्स २.१४ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६५ अंकले वृद्धि भएका छन्।
बजारसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ। सोमबार ८ अर्ब ६६ करोड रुपैयाँमा सीमित कारोबार, बुधबार बढेर १० अर्ब ५३ करोड रुपैयाँ नाघेको छ। कुल ३४४ स्टकको १ लाख २३ हजारभन्दा बढी कारोबारमार्फत २ करोड ६४ लाख कित्ता शेयर किनबेच भएका छन्।
यस दिन ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डस्ट्रीज र सुपर खुदी हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण उच्च देखिएको हो। शिखर पावर डेभलपमेन्टको शेयर झन्डै १० प्रतिशतले बढ्दा सोलु हाइड्रोपावरमा पनि ८ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। यता, रिलायन्स स्पिनिङ्ग मिल्स भने साढे ५ प्रतिशतभन्दा बढी घट्दै दबाबमा रह्यो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहँदा, नेशनल हाइड्रोपावर कम्पनी र रिलायन्स स्पिनिङ्ग मिल्स पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।
सकारात्मक पक्ष के भने, यस दिन १३ वटै उपसमूह हरियालीमा देखिएका छन्। तीमध्ये होटल तथा पर्यटन उपसमूह सबैभन्दा बढी ३.१६ प्रतिशतले बढ्दा, जलविद्युत र व्यापार उपसमूहमा पनि २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। बैंकिङ, विकास बैंक र वित्त समूहले पनि १ प्रतिशतभन्दा बढीको सुधार देखाएका छन्।
प्रतिक्रिया